Monday, June 24, 2013

निद्रा बिथोल्ने सपनाहरू


मेरो त्यत्रो दिनको मिहिनेतको प्रतिफल प्रयोगमा ल्याउन नपाउँदै हराएको थियो । मैले बनाएको त्यो 'रेडियो' घन्काउन मौकाको खोजीमा थिएँ, तर हराएछ । यस घटनाले कति रात म सुत्नै सकिनँ । 'सपना त्यो होइन, जुन निदाएको अवस्थामा देखिन्छ । सपना त त्यो हो, जसले निदाउनै दिँदैन' फेसबुकका पानामा देखिएका यी घतलाग्दा पंक्ति अब्दुल कलामको फोटोमा आकर्षक डिजाइनका साथ टाइप गरिएका थिए । साँच्चै, महान् व्यक्तिका महान् कार्य यस्तै निदाउन नदिने सपनाका प्रतिफल थिए होलान् । यस्तै सपनाले हामीलाई मिहिनेत गराउँछ । मैले पनि त्यस्तै सपनाले निदाउन नदिएरै त्यो 'खेलौना रेडियो' बनाउन पुगेको थिएँ । 


दुई कक्षा पढ्दाको कुरा । तीन सुकामा एउटा अण्डा पाइने बेलाको । अझै पनि रेडियो टीभीभित्र नाच्ने, गाउने ससाना मान्छे पो हुन्छन् कि भनेर घरीघरी जाँच्न मन लाग्थ्यो । ती साना ठूला बाकसको पछाडि यसो चियाउन जान्थेँ मौका पाउनेबित्तिकै । मनमा असीम खुल्दुलीले मलाई आफ्नै रेडियो बनाउन लगायो । अति सरल सिद्धान्तमा रेडियो घन्किँदो रहेछ भन्ने लाग्यो बालमस्तिष्कमा र लाग्न थालेँ त्यसको लागि सामान जोड्न । एउटा बट्टा, केही पुराना ब्याट्री, पुरानो स्पिकरको अवशेष चुम्बक, साइकलको पांग्राको तार, छोटो बिजुलीका तार आदि आदि । म जहिल्यै एकान्तको मौका खोज्थेँ ।



एक दिन ती सबै सामानलाई यसरी होला कि उसरी होला अनुमान लाउँदै जोडेँ । साइकलको पांग्राको त्यो तारलाई एन्टिना मानेर फिट गरेँ । त्यसमा जोडें एक जोडी बिजुलीका तार, जसलाई २२० भोल्ट आउने दुलाभित्र छिराउनेबित्तिकै घरमा रहेको अरू रेडियोजस्तै यो पनि बज्न थाल्नेछ भन्ने कुरामा म ढुक्क थिएँ । बा आमा तथा दाजुहरूसित यो कुरा सेयर गर्न सक्तिनथेँ । किनकि मेरो महान् आविस्कारलाई हावामा मात्र उडाइने छैन, गालीको वषर्ातमा नराम्ररी भिज्नुपर्नेछ, त्यो पक्का थियो ।  



ब्याड लक भनूँ कि गुड लक, प्रयोगभन्दा अगाडि नै त्यो हरायो । गुड लक यो मानेमा कि, कथंकदाचित मैले मौका छोपेर त्यसको प्रयोगको नाममा बिजुलीसित खेलबाड गर्न पुगेको भए मेरो के हालत हुन्थ्यो होला ? यो लेख्न सुनाउन म बाँचेको पनि हुन्थेँ कि हुन्थिनँ ? उसो त हाउगुजी टाइपका सपनाहरूले पनि निदाउन दिँदैनन् । जाँचको भूतले कम्ती सास्ती गर्दैन । यही डरले टुप्पी कसेर पढ्न कर लाग्थ्यो र फेल हुन दिँदैनथ्यो । पढाइबाहेकको कुरा गर्ने हो भने, नौलो सामान देख्नेबित्तिकै त्यसको कपी गर्न खोज्ने बानी थियो मेरो । साथीहरूको नयाँ खेलौना आदि देख्दा त्यस्तै खेलौना किन्नेभन्दा पनि कच्चापदार्थ जोडेर तिनलाई बनाउने कोसिसमा हुन्थेँ । कहिले यस्तै यस्तै कुरा सम्झँदै पल्टिँदा निदाउन नपाउँदै बिहान हुन्थ्यो । अनि मबाट हुने गर्थे उट्पट्याङ काम । गुच्चा, गट्टा खेल्दादेखि लिएर धनुकाँडले निसाना लाएर खेल्दा साथीहरूलाई घाइते बनाउने महान् कामहरू पनि भए उबेला । तर केही केही उपयोगी नतिजा ननिस्केका भने होइनन् ।

*****


एिकपटक दाइले बाक्लो कार्टुनको एउटा बाकस देखाएर भन्नुभयो, 'यो फिलिम हेर्ने प्रोजेक्टर हो, यसले सिनेमा हलमा जस्तै ठूलो तस्बिर देखाउन मिल्छ ।' कागजको त्यो बाकसमा कागजकै एउटा नली थियो र भित्र बत्ती बाल्ने जोरजाम मिलाइएको थियो । नलीमा एउटा लेन्स र  फिल्मको पोजिटिभ राखिने रहेछ, जसमा फिल्मको दृश्य थियो । चिमबाट आउने प्रकाश त्यसबाट हुँदै निस्केर भित्तामा ठोकिएपछि 'फिलिम' देखिँदो रहेछ । निकै मिहिनेतले बनाउनुभएको थियो उहाँले । हामी चार पाँचजना सबै 'फिलिम' हेर्न भनेर अँध्यारो कोठामा जम्मा भयौँ । जसै दाइले त्यसको बत्ती बाल्नुभो, भित्तामा साँच्चिकै हिन्दी सिनेमाको धमिलो दृश्य देखा पर्‍यो । सब दंग भए । तर त्यो खुसी धेरै बेर टिकेन । कारण, दाइले प्रयोग गर्नुभएको चिम निकै ठूलो परेछ जसको रापले फिल्मको पोजिटिभ पग्लन पुगेछ । 



यस घटनापछि प्रोजेक्टर बनाउने सपनाले निद हराम हुन थाल्यो । दाइबाट भएका गल्तीहरूलाई ख्याल राखी परिमार्जित उपकरण बनाउने ठानी लिएँ । यसका लागि ब्याट्री, बाकस, तीन रुपियाँमा पाइने आइग्लास -सानो वस्तुलाई ठूलो गरी देखाउने म्याग्निफाइङ लेन्स), गम, टेप आदि जोडेँं । ७० रुपियाँ पर्ने स्टिलको टर्चबाट चिम पनि खुसुक्क निकालेँ । फिल्मको पोजिटिभको लागि खेलौना बेच्न आउने भैयाको बाटो हेर्न थालेँ । उसबाट किनेँ रुपियाँको चारवटा पाइने फरक फरक दृश्य कैद भएका धेरै 'पिक्चरहरू' । अनि स्कुलबाट र्फकनेबित्तिकै प्रोजेक्टर निर्माणमा लागिहाल्थेँ । आखिर एक दिन तयार भयो मेरो प्रोजेक्टर  ।



त्यति बेला हिन्दी सिनेमामा पुलिस टिमले अपराधी पक्रनका लागि सामूहिक रूपमा जानकारी दिँदा प्रोजेक्टरको प्रयोग गरेको खुब ध्यान दिएर हेरिन्थ्यो, जसबाट पनि मद्दत मिल्यो आकर्षक डिजाइनको प्रोजेक्टर बनाउन । बन्न त बन्यो, तर त्यति चित्तबुझ्दो लागेन, किनकि दाइले बनाउनुभएकोमा चिम ठूलो र बडी ताप दिने खालको थियो भने, मेरोमा प्रकाशसमेत पुग्ने गरी नदिने । बनाइसके पनि यसको परिमार्जनका आइडिया सोच्दासोच्दा धेरै रात अनिदो नै कट्न थाले । 



निद्रा बिथोल्ने यस्तै सपनाको पछि लाग्नाले नै एकपटक पछुताउनुपरेको थियो । एसएलसीपछि विज्ञान विषय रोजेँ । आईएस्सीमा बायोलोजी विषय लिएर पढ्नेले भ्यागुताको विस्तृत अध्ययन गर्नुपथ्र्याे । प्राक्टिकल क्लासमा पहिलोचोटि चक्कु चिम्टा लिएर ट्रेको मैनमा उत्तानो पारेर पिनले टाँसिएको भ्यागुताको मृत शरीरलाई चिर्दा आफूलाई सानोतिनो डाक्टर नै ठानिएको थियो । त्रिचन्द्र कलेजजस्तो विज्ञान संकायका लागि नाम चलेको संस्थामा विद्यार्थी चाप धेरै हुनु त स्वाभाविक भइहाल्यो । हरेक प्राक्टिकल क्लासमा हरेक विद्यार्थीका लागि अलगअलग भ्यागुता उपलब्ध गर्नु सम्भव थिएन सायद । चार, पाँचजनाको एउटा समूहले एउटा भ्यागुता पाउँथ्यो । भ्यागुताको डाइसेक्सन क्लास सकिएको भन्ने घोषणा भयो । तर दुई तीनपटक भ्यागुता चिरेर त्यसमा जटिल प्रणालीहरूको अध्ययन गर्दैमा परीक्षाका लागि दुरुस्त रहन सकिन्छ भन्नेमा म ढुक्क थिइनँ । एकपटक फेरि त्यस्तै डाइसेक्सन गर्नुपर्छ भन्ने लागिरह्यो । अतः यो चिन्ताले कहिलेकाहीँ सुत्न गाह्रो पथ्र्याे । 



म पीरमा परेको देखेर एक दिन भाइले खेतबाट ज्युँदो भ्यागुता ल्याइदियो । ल्याक्टोजिनको बट्टामा थुनेर ल्याएको त्यो प्राणी आफू सहिद भएर मलाई सहयोग गर्न गइरहेको थियो । भोलिपल्ट भान्साको ढोकासोका लाएर जुठ्यानमा त्यसको वध गरेँ, गह्रौं चिजले हिर्काएर । अनि सुरु भयो चिरफारको सिलसिला । तर, कहाँ क्याम्पसमा फर्मालिनको घोलमा डुबाएर छाला मासु नरम पारिएको भ्यागुताको सजिलो मृत शरीर, कहाँ यो कडा छाला भएको भर्खर मृत तुल्याइएको । डाइसेक्सन निकै फरक र गाह्रो लाग्यो । 



करिब पन्ध्र मिनेटको चिरफारपछि बल्ल सेतो पहेंला बोसो निस्केर भित्री अंगहरू देखिन थालेका थिए । त्यसलाई छाडी मेरा हातले नभ्याउने ठाउँमा रहेको चिम्टा लिन के उभिएको थिएँ, मृत ठानेको भ्यागुता उत्तानो अवस्थाबाट उप|mेर सुल्टो भयो र बुर्लुक बुर्लुक उप|mेर भाग्न थाल्यो । त्यसलाई कति पीडा भइरहेको होला भनेर सोच्दा मन कुँडियो । उसको घाउ सिलाएर पहिलेजस्तै दुरुस्त बनाउने विद्या मैले सिकेको थिइनँ । पीडाबाट मुक्ति दिलाउनकै लागि मैले त्यसमाथि फेरि प्रहार गरेर प्राणमुक्त गरिदिएँ । तत्पश्चात् यसबाट भएको पछुतोले मलाई पछिसम्म खेदिरह्यो । 



निद्रा बिथोल्ने सपना होइन, निदाएको बेला देखेका सपना पनि पूरा भएका छन् मेरा । एसएलसीपछिको १३ वर्ष मैले शिक्षण पेसामा खर्चेको थिएँ । अघिल्ला केही वर्ष यादगार रहे । यसै क्रममा एसएलसीका विद्यार्थीलाई ज्यामितीको लागि तयारी गराउने क्रममा एउटा प्रश्न मैले पनि हल गर्न सकेको थिइनँ । सीधा बांगा रेखाहरूका जटिल चित्रले गिज्याइरहेको थियो । जति प्रयास गर्दा पनि हल ननिस्केपछि अखिर हार खानुपर्‍यो विद्यार्थीहरूको अगाडि । एक किसिमले लाजै भयो, जसको कारण बेला बेलामा निदाउन गाह्रो पर्न थाल्यो । त्यसै बीच एक रात सपनामा बुँदागत रूपमा त्यस प्रश्नको हल गर्न सकेको भनेर देखेँ । 



बिहान पनि त्यही सपनाका धमिला अवशेषहरू बाँकी थिए मस्तिष्कमा । चिया खाइवरी त्यही चित्रमा यसो घोरिँदा सपनामा देखेसरी एक एक गरी लेख्दै जाँदा ट्वाक्क हिसाब मिलेछ । भूमिमा पाउ थिएनन् मेरा । एक किसिमले युद्ध जितेजस्तै अनुभव भयो । हिसाब मिल्यो भन्दा पनि कसरी मिल्यो भन्ने प्रसंगले रोमाञ्चित थिए विद्यार्थी । यसपछिका रातहरूमा पनि आफ्नो पेसामा साथ दिने खालका सपनाहरू देखेको छु, जसले मलाई गणितका विभिन्न विषयमा मार्गदर्शन गरे । 



यस्तै फिल्मी टाइपको सपनाले मद्दत गर्दा एकपटक म रमाएर उप|mेको थिएँ । ट्युसन पढाउने क्रममा दिनभरको पढाइपछि थाकेर कक्षामा आउने विद्यार्थीमाथि दया लाग्थ्यो । किताब, पढाइ र कडा अनुशासनको भारले थिचिएका तिनीहरूले केही मनोविनोद गर्न पाए तरोताजा भएर पढ्नेछन्, यस्तो सोच्थेँ । अनि कहिलेकाहीँ उनीहरूमध्ये केहीलाई छानेर उसको क्यारिकेचर चित्र बनाइदिन्थेँ । त्यस्तो क्षण कक्षाकोठाको रौनक नै बेग्लै हुन्थ्यो । यस्तैमा एउटा मोटो खाम फाइल नै बनेको थियो रंगीन क्यारिकेचरहरूको । बेलाबेलामा विद्यार्थीहरू त्यही एल्बम पल्टाएर बांगाटिंगा अनुहारहरू हेर्दै दंग पर्थे, नयाँ जोसका साथ फेरि पढाइमा लाग्थे । एक दिन त्यस फाइलबाट एउटा रमाइलो क्यारिकेचर हराएको पाएँ । मनै खिन्न भयो, कसैले लगेको छ कि भनेर सोधेँ । नसोधी कसैले लग्यो भन्ने विश्वास थिएन । कसैलाई पनि त्यसको अन्तिम अवस्थाबारे जानकारी रहेनछ । 



रहस्यमय तरिकाले गायब भएको त्यो चित्र सबैलाई राम्रो र रमाइलो लागेका चित्रहरूमध्ये थियो । आँखा, नाक, ओठ ठूला ठूला, जिउभन्दा सानो सर्ट लाएर नाइटो देखिएको त्यो भाइको क्यारिकेचरमा हाफ लाइदिएको थिएँ र त्यसमा उसलाई बोकाएको थिएँ प्वाल परेको गितार र मादल । रंग पनि मिहिनेत गरेर भरेको थिएँ । सम्झेर मलाई नै रमाइलो लाग्थ्यो, तर गायब भइसकेको त्यसलाई याद गर्दा फेरि खिन्न हुन्थेँ । एक रात सपनामा त्यसलाई भेटाएँ । ट्युसन क्लासमा राखिएको सोकेसको पछाडि रहेछ त्यो । नभन्दै दिउँसो बल गरेर गह्रुंगो सोकेसलाई सारेर हेरेँ । धूलोले लतपत हालतमा त्यही चित्रलाई पाएँ । सपना चमत्कारझैँ लाग्यो, विपनाजस्तै लाग्यो अनि विपना सपनाजस्तै ।

No comments:

Post a Comment