एकजना मित्रको सधैं गुनासो रहन्थ्यो, अफिस जाँदा आउँदा दैनिक तीस रुपैयाँभन्दा बढी खर्च हुन्छ, त्यो पनि जाली विद्यार्थी परिचयपत्र देखाएर छुट पाउँदा पनि । हिसाब लगाउँदा महिनाको लगभग पन्ध्र सयको खर्च किन धानिरहनु भनेर उसलाई चालीस पचास हजारमा एउटा सेकेन्ड ह्यान्ड बाइक किन्न सुझाव दिएको थिएँ । यही अभियानमा लागेर बिक्रेता पनि खोजिसकेको थिएँ । अन्तमा आएर साथीले नाइँ भनिदियो । उसको हातमा रहेको नयाँ आइफोन देखेर थाहा भयो, यही महँगो मोबाइल सेट किनेर साथीले पैसा सकेको थियो । नपुगेको यताउताबाट ऋण पनि गरेछ । त्यस दिनदेखि ऊ प्रायः मोबाइलमै फेसबुक र टि्वटर चलाउँदै गरेको देखिन थाल्यो । ऊसितको हरेक भेटमा नयाँ मोबाइलसेटका विभिन्न फिचरहरू देखाएर हैरान पाथ्र्यो । फोन गर्न भने कन्जुस छ, उसले मिसकल गर्यो भने मैले कलब्याक गर्नुपर्ने ।
नयाँ आइफोन बोकेर लौकाजत्रो नाक र नाङ्लोजत्रो छाती पारेर अझै पनि जाली परिचयपत्र देखाउँदै बस तथा माइक्रोमा आवतजावत गर्ने उसको क्रम निरन्तर थियो । यसैबीच एक दिन ऊ अँध्यारो र हतास अनुहार लिएर उपस्थित भयो । 'मेरो आइफोन त चोरी भयो, बसमा ।' योभन्दा बढी केही बोल्ने हालतमा थिएन ऊ । बिचरालाई मैले स्वदेश फर्केको एउटा लाहुरेको किस्सा सुनाएँ, जसको कथा ऊसित ठ्याक्कै मिल्दो थियो । विदेशमा मजदुरी गरेर फर्केको त्यो व्यक्ति सुटबुटमा सजिएर रवाफ देखाउँदै सार्वजनिक यातायातमा महँगो मोबाइलको प्रदर्शन गर्ने क्रममा लुटिएको थियो ।
अचेल प्रविधितिर लोभिनेहरू बढेका छन् । बजारमा दिनहुँ नयाँ र लोभलाग्दा डिजाइनका मोबाइलहरू भित्रिँदै छन् । मान्छे तिनका पछि दौडँदै छन् । महँगो मोबाइल सेटकोे रहर त्याग्न गाह्रै हुन थालेको मान्छेलाई । हातमा सेक्सी डिजाइनका स्मार्टफोन हुनेको मुहारमा गजबको चमक र आत्मविश्वास झल्किन्छ । तर एउटा अनौठो प्रकारको डर पनि साथमा किनेका हुन्छौँ क्यारे यस्ता महँगा ग्याजेटका साथमा । हरेक क्षण यो हराउला कि, कतै बिर्सिएला कि, चोरिएला कि, खस्ला कि, बिग्रेला कि... आदि आदि । सुत्दा उठ्दा, खाँदा, बस्ता, सवारी चलाउँदा र ट्वाइलेटमा समेत आफूसँगै हुन्छ मोबाइल । यतिको समय कसैले आपmनो पि्रय व्यक्तिसित पनि बिताएको हुँदैन । तर यही प्यारो मोबाइल हराइदिँदा, चोरिँदा, लुटिँदा भने मन कटकट हुने भइहाल्यो ।

