Monday, June 24, 2013

मोबाइल हराउँदा

एकजना मित्रको सधैं गुनासो रहन्थ्यो, अफिस जाँदा आउँदा दैनिक तीस रुपैयाँभन्दा बढी खर्च हुन्छ, त्यो पनि जाली विद्यार्थी परिचयपत्र देखाएर छुट पाउँदा पनि । हिसाब लगाउँदा महिनाको लगभग पन्ध्र सयको खर्च किन धानिरहनु भनेर उसलाई चालीस पचास हजारमा एउटा सेकेन्ड ह्यान्ड बाइक किन्न सुझाव दिएको थिएँ । यही अभियानमा लागेर बिक्रेता पनि खोजिसकेको थिएँ । अन्तमा आएर साथीले नाइँ भनिदियो । उसको हातमा रहेको नयाँ आइफोन देखेर थाहा भयो, यही महँगो मोबाइल सेट किनेर साथीले पैसा सकेको थियो । नपुगेको यताउताबाट ऋण पनि गरेछ । त्यस दिनदेखि ऊ प्रायः मोबाइलमै फेसबुक र टि्वटर चलाउँदै गरेको देखिन थाल्यो । ऊसितको हरेक भेटमा नयाँ मोबाइलसेटका विभिन्न फिचरहरू देखाएर हैरान पाथ्र्यो । फोन गर्न भने कन्जुस छ, उसले मिसकल गर्‍यो भने मैले कलब्याक गर्नुपर्ने ।

नयाँ आइफोन बोकेर लौकाजत्रो नाक र नाङ्लोजत्रो छाती पारेर अझै पनि जाली परिचयपत्र देखाउँदै बस तथा माइक्रोमा आवतजावत गर्ने उसको क्रम निरन्तर थियो । यसैबीच एक दिन ऊ अँध्यारो र हतास अनुहार लिएर उपस्थित भयो । 'मेरो आइफोन त चोरी भयो, बसमा ।' योभन्दा बढी केही बोल्ने हालतमा थिएन ऊ । बिचरालाई मैले स्वदेश फर्केको एउटा लाहुरेको किस्सा सुनाएँ, जसको कथा ऊसित ठ्याक्कै मिल्दो थियो । विदेशमा मजदुरी गरेर फर्केको त्यो व्यक्ति सुटबुटमा सजिएर रवाफ देखाउँदै सार्वजनिक यातायातमा महँगो मोबाइलको प्रदर्शन गर्ने क्रममा लुटिएको थियो । 

अचेल प्रविधितिर लोभिनेहरू बढेका छन् । बजारमा दिनहुँ नयाँ र लोभलाग्दा डिजाइनका मोबाइलहरू भित्रिँदै छन् । मान्छे तिनका पछि दौडँदै छन् । महँगो मोबाइल सेटकोे रहर त्याग्न गाह्रै हुन थालेको मान्छेलाई । हातमा सेक्सी डिजाइनका स्मार्टफोन हुनेको मुहारमा गजबको चमक र आत्मविश्वास झल्किन्छ । तर एउटा अनौठो प्रकारको डर पनि साथमा किनेका हुन्छौँ क्यारे यस्ता महँगा ग्याजेटका साथमा । हरेक क्षण यो हराउला कि, कतै बिर्सिएला कि, चोरिएला कि, खस्ला कि, बिग्रेला कि... आदि आदि । सुत्दा उठ्दा, खाँदा, बस्ता, सवारी चलाउँदा र ट्वाइलेटमा समेत आफूसँगै हुन्छ मोबाइल । यतिको समय कसैले आपmनो पि्रय व्यक्तिसित पनि बिताएको हुँदैन । तर यही प्यारो मोबाइल हराइदिँदा, चोरिँदा, लुटिँदा भने मन कटकट हुने भइहाल्यो  । 


मोबाइल हराएका केही प्रसंगहरू सम्भिmन्छु । लोडसेडिङ भएको एक रात करिब एघार बजे चोर चोर भन्दै लखेटेको आवाज सुनियो । चोर भने फुत्किसकेको थियो । भएको के रहेछ भने, मैले चिन्ने रामप्रसाद दाइ मोबाइलमा कुरा गर्दै बाटोमा हिँडिरहेका थिए । चोरले उनलाई कुरा टुंग्याउने मौका पनि दिएनछ र कानतिरबाटै मोबाइल थुतेर भागेछ । दाजुको रिस र दुःखेसो मोबाइल लुटेको भन्दा पनि कुरा पनि टुंग्याउन नदिएकोमा थियो । यसमा उनले साह्रै हेपिएको महसुस गरेका थिए । संयोगवश उनले एउटा घरबाट आएको मधुरो प्रकाशमा चोरको हुलिया भने चिनेछन् । टोलका दादा भनाउँदा गुन्डाहरूलाई सम्पर्क गरेछन् । दादा टोलीले नजिकैको चोर टोलीलाई सम्पर्क गरेछ । चोरको हुलियाको हल्का विवरणले ऊ आबद्ध भएको टोलीको पहिचान भएछ र एकैछिनमा चोर पनि । चोरको नेटवर्क प्रहरीको भन्दा फस्टक्लासको पाए रामप्रसाद दाइले  । 
काठमाडौँको बजारमा नोकियाका लोभलाग्दा डिजाइनका मोबाइल आएका थिए त्यो बेला ।


चिनजानका एकजना दाइले पैसा जोडेर उन्नाईस हजारमा किनेको नोकियाको कालो फोल्डिङवाला सेट कतै बिर्सेछन् । मोबाइलको मोलभन्दा पनि बढी पीर त्यसको सिममा थियो । त्यसमा आपmना कारोबारीका नम्बर थिए । सबै कन्ट्याक्ट हरायो भने उनको पेसामा नराम्रो झट्का पर्ने निश्चित थियो । बडो पीर गरेर पसलबाट आफ्नै नम्बरमा डायल गरेछन् । उनी सोच्दै थिए, मोबाइल कसैको हातमा परिसकेपछि अवश्य पनि स्विच अफ गरिसकेछ होला । तर अनुमान गलत सावित भयो । उताबाट पनि जवाफ आयो, 'हेलो' । उनमा केही आशा पलायो । मोबाइल भेट्टाउनेसँग उनले आफूलाई फर्काइदिन अनुनय विनय गरे । उताबाट पनि उनलाई अल्मल्याउने खालको लामो कुराकानी भएन । 'तपाईंको मोबाइल त गजब सेक्सी रहेछ । मलाई साह्रै मन पर्‍यो, मै राख्छु नि है । सिमकार्ड भने फर्काउँछु ।' अनेक बिन्ती गर्दा पनि सेट फिर्ता नपाइने भयो । अन्तमा ती दाइले सिमकार्ड फर्किने कुराले चित्त बुझाए । सिम फिर्ता माग्न जाँदा प्रत्यक्ष भेट गरी अनुरोध गरुँला भन्ने सोच उनको थियो । तर त्यसो गर्ने मौका पनि उनले नपाउने भए ।  किनकि, सिम प्राप्त गर्ने अनौठो तरिका बताइयो उनलाई । जसअनुसार फलानो दिनको फलानो समय थापाथलीको फलानो पसलअगाडि रहेको बिजुलीको खम्बाको अप्ठेरा ठाउँमा चुइङ्गमले टाँसिएको हालतमा उनले आपmनो सिमकार्ड प्राप्त गरे । 'चोर त सोझो नै रैछ' उनले विचार गरे । किनकि नराम्रो मान्छेको हातमा परेको भए त्यो सिमकार्ड आपराधिक कार्यमा पनि प्रयोग हुन सक्थ्यो  । 

चोर्नेको त कुरै छोडौँ, मोबाइल भेट्टाउने व्यक्तिको नियत पनि नफर्काउनेछ भने उसले स्विच अफ गर्छ । किनकि ऊ मोबाइलधनीको कुनै प्रकारको अनुरोध वा किचकिच सुन्ने मुडमा हुँदैन । तर, हराइसकेको भए पनि अफ गरेको छैन भने फोन उठाउने व्यक्तिलाई अनुरोध गरेर वा केही पुरस्कारको स्किम प्रस्ताव गरेर मोबाइल फिर्ता पाउने झिनो आशा रहन्छ । तर मोबाइल भेट्टाउनेबित्तिकै स्विच अफ गर्ने गरी सबै सज्जन कहाँ हुन्छन् र ? हो स्विच अफ गर्ने सज्जन । किनकि कोही त कहिले यो भेटिएको मोबाइलमा फोन आउला र जिस्क्याउँला भनेर कुरेर बसेका हुन्छन् । मेरी श्रीमतीकी एक साथीले मोबाइल हराइछन् । निकै बेरपछि मात्र उनले चाल पाइन् । हत्तपत्त हराएको आफ्नो मोबाइलमा फोन गरिन् । उता फोन उठेकोमा दंग परिन् । 'फलानो ठाउँमा मेरो मोबाइल हराएछ, तपाईंले पाउनुभयो । मलाई फर्काइदिनुुस् न प्लिज' भनेर अनुरोध गर्ने सोच दिमागमा के आएको थियो, उताबाट मज्जाको हाँसोका साथ पुरुष स्वरमा उत्तर आयो, 'लाटी, बल्ल चाल पाइस् ? तिम्रो मोबाइल त अहिले हो भेट्टाएको ?' फोन काटियो  र स्विच अफ भयो । एक त महँगो मोबाइल हराएको चिन्ता, त्यसमाथि अरूको मनोरञ्जन भइयो । 


हराएको मोबाइल फर्काउने प्रयासमा पीडितले अनेक जुक्ति लाउँछन् । एक मित्रको मोबाइल हरायो । तत्काल त्यसमा फोन गरे, रिंग जाँदै गर्दा आफैंले फोन काटे । सोचें, मोराले त स्विच अफ गरेकै रहेनछ । मैलेभन्दा पनि कुनै सुरिलो स्वर भएको कन्यालाई अनुरोध गराउन पाए प्रयास व्यर्थ नजानेथियो । उनले आफ्नी प्रेमिकालाई यस काममा प्रयोग गरे । तर बेकार । मोबाइल त कुनै कन्याले नै भेट्टाएकी रैछ । उताबाट आवाज आयो, 'आपmनो सामानको जतन गर्न सक्तैनस् ? ल, फोन राख् ।' मोबाइल त हरायो, पैसा तिरेर गाली खानुजस्तो मात्र भयो । 


एकपटक अफिसबाट खाजा खान निस्कँदा नचिनिने नम्बरबाट फोन आयो । ती व्यक्तिका अनुसार एउटा चोर समातिएको रहेछ जसले तीनवटा मोबाइल चोरेर ग्राहक खोज्दै रहेछ । चोरले म फलानोको भान्जा हुँ भनेर जमानतको आशा गर्दै मेरो नाम लिएको रहेछ । मैले 'चिन्दिनँ' भनेर फोन राखिदिएँ । पछि पो थाहा पाएँ, त्यो समातिएको मान्छे चिनजानकै रहेछ । सानैदेखि चोर्ने रोग लागेको ऊ समातिएको खण्डमा त्यो क्षेत्र आसपासका कोही व्यक्तिसित साइनो गाँसेर माफी पाउने प्रयास गर्दोरहेछ । त्यो बेला त मोराले अचाक्ली नै गरेछ । तीनवटा महँगा सेट कतैबाट झ्याप हानेर ग्राहक खोज्दै मोबाइल पसलमा पुगेछ । पैसाको खाँचो भएर मोबाइल बेच्न ल्याएको कुरा सुन्दा पसलेलाई चिसो पसेछ । बिचरा समातिएछ र भीड उसलाई कुट्न ठिक्क परिरहेको थियो । तर अपि्रय घटना हुनुअगावै उसलाई थुनेर उसले नाम लिएका व्यक्तिलाई फोन सम्पर्क गर्न खोजिएको रहेछ । कतैबाट 'चिन्छु' भन्ने उत्तर नआएपछि केही घन्टा थुनामा बस्नुपर्‍यो उसले । अन्तमा चोरीका ती मोबाइल प्रहरीको जिम्मा लाएर जान दिने निधो भयो । र, उसलाई छाडियो । पछि पो पत्ता लाग्यो, थुनिएको चोरले आफू थुनिएको कोठाका दुईवटा सीएफएल चिम नै पो चोरेर लान भ्याइसकेछ । सेक्सी स्मार्टफोनले कसलाई पो नलोभ्याउला र । आफ्नो गच्छेअनुसार किन्नोस्, तर हराएर अरूको फाइदा गराई पुर्पुरामा हात राखेर खिन्न हुन नपरोस् । 

No comments:

Post a Comment